लघुवित्त

About our microfinance
औपचारिक वित्तीय सेवाको पहुँचबाट वञ्चित पिछडिएका, दलित, जनजाति तथा अति विपन्न वर्ग—विशेषगरी महिलाहरू—लाई सानो–सानो रकम नियमित रूपमा बचत गर्न प्रोत्साहित गर्ने, उत्पादनमूलक कार्यका लागि विनाधितो ऋण उपलब्ध गराउने तथा शिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी सेवा प्रदान गरी आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने कार्यलाई लघुवित्त भनिन्छ।
लघुवित्तलाई गरिबी निवारण तथा विपन्न समुदायको आर्थिक–सामाजिक उत्थानका लागि प्रभावकारी वित्तीय उपकरणका रूपमा लिइन्छ।

कार्यक्रमका उद्देश्य
- कार्यक्षेत्रभित्र रहेका न्यून आय भएका गरिब तथा अति विपन्न वर्गका महिलाहरूलाई समूहमा संगठित गर्ने।
- महिलाहरूलाई तालिमका अवसर प्रदान गरी आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने।
- दिदीबहिनीहरूलाई सरल र सुलभ प्रक्रियाबाट लघुवित्त ऋण उपलब्ध गराउने।
- समूह, केन्द्र तथा संस्थागत विकासका लागि वित्तीय स्रोतमा पहुँच वृद्धि गर्ने।
- व्यावसायिक विकासका लागि आवश्यक वित्तीय तथा परामर्श सेवा प्रदान गर्ने।
- स्थानीय स्तरमा पुँजी निर्माण र परिचालनलाई अधिकतम बनाउने।
- केन्द्र प्रमुख, उपप्रमुख तथा समूह अध्यक्षहरूको नेतृत्व क्षमता विकास गर्न नियमित तालिम सञ्चालन गर्ने।
- वित्तीय साक्षरता, परामर्श तथा व्यावसायिक कार्यक्रमलाई व्यवहारमा उपयोगी बनाउने।
- बचत, लघुवित्त ऋण, धितोमा आधारित ऋण तथा आरक्षण कोषलगायत वित्तीय सेवा प्रदान गर्ने।
कार्यक्रमका वित्तीय स्रोत
- नियमित बचत तथा शेयर पुँजी
- विभिन्न कोषहरू
- लगानीबाट प्राप्त ब्याज
- अनुदान तथा सहयोग रकम
- वित्तीय संघ–संस्थाबाट प्राप्त ऋण
कार्यक्रमका प्रमुख क्रियाकलाप
- विपन्न, न्यून आय तथा मध्यम आय भएका महिलाहरूलाई समूहमा आबद्ध गरी केन्द्र गठन गर्ने।
- सदस्यहरूलाई विभिन्न तालिम प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने।
- वित्तीय संघ–संस्थाबाट स्रोत जुटाई सदस्यहरूलाई सरल र सुलभ रूपमा लघु ऋण उपलब्ध गराउने।
- केन्द्र तथा समूहका सदस्यहरूबाट लघु बचत संकलन गर्ने।
- नियमित निरीक्षण तथा अनुगमन गरी शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने।
- वित्तीय मध्यस्थतासँग सम्बन्धित आवश्यक अन्य कार्य सञ्चालन गर्ने।
- सदस्यहरूको आवश्यकताअनुसार बचत, ऋण, धितो ऋण तथा कोषसम्बन्धी सेवा प्रदान गर्ने।

लघुवित्तका सुविधाहरू
१. बचत सुविधा
Regular Savings
महिलाहरूमा नियमित बचत गर्ने बानीको विकास गर्न समूहको निर्णयअनुसार प्रत्येक महिनाको निर्धारित बैठकमा अनिवार्य रूपमा बचत जम्मा गरिन्छ। यस बचतमा ब्याज प्रदान गरिन्छ।
व्यक्तिगत बचत
सदस्यहरूले आफूसँग भएको रकम केन्द्रमा वा कार्यालय समयभित्र व्यक्तिगत रूपमा जुनसुकै बेला जम्मा गर्न र आवश्यक पर्दा झिक्न सक्छन्। यस बचतमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिन्छ।
योजना बचत
योजना बचतमा नियमित रूपमा १५ वर्षसम्म रकम जम्मा गर्नुपर्छ। निर्धारित अवधिसम्म नियमित बचत गरेमा जम्मा भएको रकममा शतप्रतिशत थप गरी फिर्ता प्रदान गरिन्छ।
सानो नानीबाबु बचत
लघुवित्त सदस्यका छोरा वा छोरीले न्यूनतम रु. १०० बाट खाता खोल्न सक्छन्। यस बचतमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिन्छ। बालबालिकाले १६ वर्ष पूरा गरेपछि उक्त खातालाई शेयर सदस्यतामा रूपान्तरण गर्न सकिन्छ।
केन्द्र संरक्षण बचत
केन्द्रको संरक्षण तथा सामूहिक कार्यका लागि सदस्यहरूको बैठकको निर्णयअनुसार प्रत्येक मासिक बैठकमा प्रतिव्यक्ति कम्तीमा रु. ५, रु. १० वा सोभन्दा बढी रकम जम्मा गरिन्छ।
यस बचतमा त्रैमासिक रूपमा ब्याज प्रदान गरिन्छ। केन्द्रको नाममा पासबुक तयार गरी केन्द्रको सिफारिसमा उक्त रकम सामूहिक कार्यमा परिचालन गर्न सकिन्छ।
२. सदस्य सहयोग कोष
सदस्यहरूबीच आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रका प्रत्येक सदस्यले हरेक वर्ष पुस मसान्तसम्म प्रतिव्यक्ति रु. २०० का दरले सदस्य सहयोग कोषमा रकम जम्मा गर्छन्।
यस कोषबाट निम्न सुविधा प्रदान गरिन्छ:
- सदस्यको मृत्यु भएमा: रु. ७,०००
- सदस्यको श्रीमान्को मृत्यु भएमा: रु. ७,०००
- सुत्केरी भएमा: रु. २,००० (अधिकतम दुई पटकसम्म)
- दुर्घटना भएमा: अस्पतालको प्रेस्क्रिप्सन तथा प्रमाणका आधारमा अधिकतम रु. ५,०००
नोट: माथि उल्लिखित सुविधा प्राप्त गर्न सदस्यता लिएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्छ।
३. विनाधितो लघु ऋण
सदस्यहरूलाई विभिन्न व्यवसाय सञ्चालन गर्न केन्द्रको सिफारिस तथा घरपरिवारको रोहवरमा ऋण प्रदान गरिन्छ।
| ऋण लिएको पटक | अधिकतम ऋण रकम |
|---|---|
| पहिलो पटक | रु. ३०,००० |
| दोस्रो पटक | रु. ५०,००० |
| तेस्रो पटक | रु. १,००,००० |
| चौथो पटक | रु. १,५०,००० |
| पाँचौँ पटक | रु. २,००,००० |
| छैटौँ पटक | रु. २,५०,००० |
| सातौँ पटक | रु. ३,००,००० |
सदस्यहरूलाई समूहको जमानीमा, आवश्यक प्रक्रिया र पूर्वजानकारी पूरा भएपछि, सकेसम्म ऋण माग गरेकै दिन विनाधितो ऋण उपलब्ध गराइन्छ।
४. घरजग्गा धितो ऋण
यो ऋण सदस्यको घरजग्गा धितो राखेर प्रदान गरिन्छ।
- अधिकतम ऋण सीमा: रु. १,५०,००,००० (एक करोड पचास लाख रुपैयाँ)
- भुक्तानी विधि: Monthly instalment
- अधिकतम अवधि: १० वर्ष
- ब्याजदर: संस्थाले समय–समयमा तोकेबमोजिम
५. क्षमता अभिवृद्धि तालिम
- सदस्यको व्यवसाय र आवश्यकताका आधारमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्ने।
- केन्द्रको संस्थागत विकासका लागि आवश्यक तालिम सञ्चालन गर्ने।
- केन्द्र अध्यक्ष, केन्द्र कोषाध्यक्ष तथा समूह अध्यक्षलाई सक्रिय र सक्षम बनाउन अन्तरक्रिया, गोष्ठी तथा नेतृत्व विकास तालिम सञ्चालन गर्ने।
- महिला सशक्तीकरण तथा विकाससम्बन्धी विभिन्न क्रियाकलापमा सदस्यहरूको सहभागिता गराउने।
६. घरदैलो वित्तीय सेवा
सदस्यहरूको घरदैलोमै छिटो र सहज रूपमा बचत तथा ऋण कारोबारसम्बन्धी सेवा उपलब्ध गराइन्छ।
कार्यक्रमका उपलब्धिहरू
- १४९ वटा केन्द्र स्थापना
- कार्यक्षेत्र: काठमाडौं जिल्ला
- ३,३२४ जनाभन्दा बढी सदस्य आबद्ध
- ९९ प्रतिशत ऋण असुली दर
- सदस्यहरूलाई सीपमूलक तथा व्यावसायिक तालिम प्रदान
- ऋण परिचालनमार्फत सदस्यहरूको आयआर्जनमा वृद्धि
समुदायमा परेको प्रभाव
- समुदायमा बचत तथा लघु ऋणप्रति सकारात्मक धारणा र माग बढेको छ।
- महिलाहरूको आयआर्जनसम्बन्धी क्रियाकलापमा सक्रियता बढेको छ, जसबाट उनीहरूको आर्थिक भार कम हुँदै गएको छ।
- स्वास्थ्य, शिक्षा र सरसफाइसम्बन्धी चेतनामा वृद्धि भएको छ।
- समुदायका विभिन्न सवालमा महिलाहरूको सहभागिता बढेको छ।
- स्थानीय स्तरमा महिलाहरूको निर्णय लिने क्षमता र नेतृत्व विकास भएको छ।
- महिलाहरू स्थानीय निर्वाचनमार्फत उच्च तहको नेतृत्वमा पुग्न सफल भएका छन्।
